काठमाडौँ, माघ ५, २०८२ सोमबार — नेपाल प्रहरी संगठनमा उच्चदेखि मध्यम तहसम्मका अधिकृतहरूको व्यापक सरुवा गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी), प्रहरी उपरीक्षक (एसपी) तथा ६७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको हो।
डीआईजी सरुवासँगै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रहरी प्रमुखमा समेत हेरफेर भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाटमा कार्यरत डीआईजी भूपेन्द्रबहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ सरुवा गरिएको छ भने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआईजी माधवप्रसाद श्रेष्ठलाई सीआईबी लाजिम्पाट ल्याइएको छ।
यसैगरी लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी राजेन्द्रप्रसाद भट्टलाई नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, नक्साल खटाइएको छ। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेललाई प्रहरी प्रधान कार्यालय कार्य विभागअन्तर्गत कार्य निर्देशनालय, नक्सालमा सरुवा गरिएको छ। गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिनेशकुमार आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज काठमाडौँ सरुवा गरिएको छ।
त्यसैगरी प्रहरी उपरीक्षक (एसपी) तहमा पनि विभिन्न जिल्लाहरू तथा महाशाखाहरूमा कार्यरत अधिकृतहरूको सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। एसपी सरुवाबाट केही जिल्लाका प्रहरी प्रमुख र केन्द्रीय कार्यालयका जिम्मेवारीहरूमा हेरफेर भएको छ।
यससँगै नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले ६७ जना डीएसपीको सरुवा गरेको छ। सरुवामा काठमाडौँ उपत्यकाका प्रहरी वृत्तहरू र केही जिल्लाका प्रमुखहरू समेत परिवर्तन भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका डीएसपीहरूले माघ महिनादेखि तलब–भत्ता सरुवा भएकै दरबन्दीबाट पाउनेछन्।
नेपाल प्रहरी संगठनलाई थप प्रभावकारी, सन्तुलित र कार्यसम्पादनमुखी बनाउने उद्देश्यले उच्च, मध्यम र जिल्ला तहसम्म एकैपटक सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको भनाइ छ।






