दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दलको विरोध, आजैदेखि देशव्यापी आन्दोलन सुरु गर्ने तयारी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, मंसिर २
दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति पक्राउ गरेपछि नागरिक बचाउ दल आन्दोलित बनेको छ। पार्टीले मंसिर ७ गते घोषणा गरिएको प्रदर्शनभन्दा अगावै आजैदेखि देशव्यापी विरोध कार्यक्रम सुरु गर्ने बताएको छ।

पार्टीका महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार प्रसाईंलाई ‘मध्यराति अपहरण शैलीमा’ पक्राउ गरी सरकारले नै शान्ति भंग गरेको दाबी गरिएको छ। उनले भने, “हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरणजस्तै गरेर सरकारले नियन्त्रणमा लियो। त्यसैले हामी ७ गते नपर्खी आजैदेखि आन्दोलनमा उत्रिन्छौं।”

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई सोमबार राति पक्राउ गरेको हो। हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए। राजावादी अभियानसहित बैंक ऋण मिनाहा गर्नुपर्ने माग राख्दै उनी ७ मंसिरदेखि नयाँ आन्दोलनको तयारीमा थिए।

पक्राउको विरोधमा आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाइने र त्यसपछि देशभर प्रदर्शन सुरु गरिने महामन्त्री थाम्सुहाङले जानकारी दिए।

उनका अनुसार प्रसाईंलाई तत्काल, विना शर्त र ससम्मान रिहाइ गर्न माग गरिएको छ। उनले चेतावनी दिँदै भने, “यदि सरकारले दमन जारी राख्यो भने राजनीतिक जिम्मेवारी आफैं लिनुपर्नेछ।”

Leave a comment