४भाद्र,जनकपुरधाम: जनकपुरधाममा देखिएको जग्गा विवाद अन्ततः सहमतिमार्फत समाधान भएको छ। नेपाल बार एसोसिएशन जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच लामो समयदेखि चल्दै आएको विवाद आज ऐतिहासिक सहमतिमा परिणत भएको हो।
दुवै पक्षबीच बनेको उच्चस्तरीय वार्ता समितिको अथक प्रयास र सफल मध्यस्थतापछि सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्तारिया र नेपाल बार एसोसिएशन जनकपुरधामका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रबीच भएको सहमतिपछि विवाद समाधान भएको हो।
सम्झौता बमोजिम, जनकपुरधामस्थित दुबै संस्थाले दाबी गरेको जग्गा नेपाल बार एसोसिएशनलाई कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने गरि दिइने र नेपाल पत्रकार महासंघलाई अर्को वैकल्पिक जग्गा उपलब्ध गराउने निर्णय भएको छ। साथै, भविष्यमा यस्ता विवाद आउन नदिन दुबै संस्थाले सहकार्य र आपसी समझदारीमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि जग्गा विवादका कारण दुबै संस्थाबीच मनमुटाव मात्र नभई सामाजिक असमझदारी समेत बढेको अवस्थामा सहमतिले नयाँ मार्ग प्रशस्त गरेको हो।
सहमति कायम गराउन नेपाल बार एसोसिएशनका तर्फबाट उप–महासचिव अधिवक्ता बासुदेव साहको संयोजकत्वमा बनेको समिति तथा नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रिय लेखा समिति सदस्य केशव यादव, लागुशास्त्र संयोजक राजेश कुमार कर्ण र राजु विश्वकर्माको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
पत्रकार महासंघका अध्यक्ष श्यामप्रसाद बन्तारिया र बार एसोसिएशन जनकपुरधामका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले सहमतिको विज्ञप्ति जारी गर्दै यसलाई ऐतिहासिक सहमति भएको बताए।


