विराटनगर – ४ असोज
जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरी ध्वस्त पारेको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको शनिबार डा. शेखर कोइरालाले अवलोकन गरेका छन् । निवास पुगेका बेला शेखर भावुक बनेर केही बेर भक्कानिएका थिए ।
आगलागीका क्रममा देशबाहिर रहेका कोइराला शनिबार खण्डहर बनेको घरमा पुगेका थिए । निवास अवलोकन गर्दै उनले भने, “यो शेखर कोइरालाको घर होइन, लोकतन्त्रका लागि राणाकालदेखि लडेको घर हो । कृष्णप्रसाद कोइरालाले यहीँबाट चन्द्रशमशेरलाई फाटेको भोटो पठाएका थिए ।”
उनले कार्यकर्ताहरूसँग भने, “यो लोकतन्त्रको धरोहर हो, यसलाई उठाउनुपर्छ, म उठाउँछु ।” भावुक हुँदै उनले थपे, “म यहीँ जन्मिएँ, हुर्किएँ, यहीँ पढेँ, यहीँ बसेँ । घरको इतिहास त जल्यो, तर यहींबाट हामी फेरि उठ्छौं र अगाडि बढ्छौं ।”
ऐतिहासिक महत्व
कोइराला निवास नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण स्थलका रूपमा परिचित छ । कृष्णप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालासहित मातृकाप्रसाद कोइराला प्रधानमन्त्री यही निवासबाट बनेका थिए । कांग्रेस कार्यकर्ताहरूका लागि यो घर तीर्थस्थलझैँ मानिन्थ्यो ।
कांग्रेस नेतृ तथा विराटनगर महानगरपालिकाकी पूर्वउपमेयर इन्दिरा कार्कीले भनिन्, “यो हाम्रो मन्दिरजस्तै थियो । बाटो हिँड्दा मन्दिरमा जस्तै श्रद्धाले शिर निहुरिन्थ्यो । इतिहास मेट्ने प्रयास भयो तर सफल हुँदैन ।”
यो निवास करिब १२० वर्ष पुरानो हो । पटक–पटक पुनःनिर्माण हुँदै घरमा विभिन्न समयमा नयाँ संरचना थपिएको थियो । तर हालैको आगलागीले पुरानो संरचना र थपिएका भाग दुवै ध्वस्त पारेको छ ।
पुनर्निर्माणको योजना
डाक्टर शेखरले निवास पुनर्निर्माण गर्ने र निर्वाचनअघि नै तयार पार्ने योजना सार्वजनिक गरेका छन् । “चुनाव यही घरमा बसेर खटिनुपर्ला,” उनले भने ।


