१६ मंसिर !काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्वपूर्ण खेलहरू हुँदैछन्। लिग चरण अन्त्यतर्फ उन्मुख हुँदै गर्दा प्लेअफ प्रवेशका लागि सातै टोलीबीच प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ।
पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ।
दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ।
चितवनको प्लेअफ सम्भावना, जनकपुरको जीवन-मरण खेल
४ खेलबाट ४ अंक जोडेको चितवनले आजको जितपछि प्लेअफको सम्भावना मजबुत पार्ने लक्ष्य लिएको छ।
त्यसमध्ये, अहिले सम्म अंकविहीन जनकपुर बोल्ट्सका लागि भने आजको खेल प्रतियोगितामा टिक्ने अन्तिम मौका जस्तै बनेको छ। हार व्यहोर्नुपरे जनकपुरको यात्रा यहीँ सकिनेछ।
गत संस्करणको लिग चरणमा दुवै टोली आमनेसामने हुँदा चितवनले जनकपुरलाई ३२ रनले हराएको थियो।
कर्णाली र पोखराबीच निर्णायक भिडन्त
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
दुवैले अहिलेसम्म २–२ अंक मात्र जोडेको भए पनि पोखराले १ खेल कम खेलेको छ।
पोखरा विजयी भएमा प्लेअफको सम्भावना जिउँदो रहनेछ।
कर्णाली पराजित भएमा ६ खेलमा २ अंकसहित उनीहरूको यात्रा अन्त्य हुने छ। अन्तिम खेल जिते पनि ४ अंक पुग्ने हुँदा प्लेअफका लागि पर्याप्त हुने छैन।
गत संस्करणमा दुवैबीचको भेटमा कर्णालीले पोखरालाई ७ विकेटले पराजित पारेको थियो।
अंक तालिका : सुदूरपश्चिम शीर्षमा
१९औँ खेल सकिँदा सुदूरपश्चिम रोयल्स ५ खेलमा अपराजित रहँदै १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
१ खेल बढी खेलेको काठमाडौं गोर्खाज ६ खेलबाट ८ अंकसँगै दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा विराटनगर किङ्स ५ खेलबाट ८ अंकसहित उक्लिएको छ।
४ खेलमा २ जित र २ हार दर्ता गरेको चितवन राइनोज ४ अंकसहित चौथो स्थानमा रहेको छ।



Leave a Reply