स्वरूप परिवर्तन गरी ध्वनि निकाल्ने दुई सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका पछिल्लो समय काठमाडौँ उपत्यका लगायत यहाँका विभिन्न क्षेत्रमा स्वरुप परिवर्तन गरी ठूलो ध्वनि निकाल्दै बजारमा चलाइरहेका बुलेट बाइकहरु । तस्बिरः विमलबहादुर बिष्ट/रासस

बिहीबार, ३० असोज २०८२
काठमाडौँ — उपत्यकामा बढ्दै गएको ध्वनि प्रदूषण नियन्त्रणका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गरेको छ। उक्त अभियान अन्तर्गत स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने दुई सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएका छन्।

ट्राफिक प्रहरीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा चर्को आवाज निकाल्ने र गैरकानुनी रूपमा साइलेन्सर परिमार्जन गरेका सवारीसाधनमाथि निगरानी बढाएको छ। पछिल्ला केही दिनयता यस्ता मोटरसाइकलहरू नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार ध्वनि प्रदूषणले आमजनताको दैनिक जीवनमा नकारात्मक असर पार्दै आएको छ।
उनले भने, “मोटरसाइकलबाट आउने अत्यधिक आवाजका कारण नागरिकको मानसिक स्वास्थ्य, निद्राको गुणस्तर र सामान्य जीवनशैली प्रभावित भएको छ। त्यसैले यसविरुद्ध कडाइका साथ कारबाही सुरु गरिएको हो।”

ट्राफिक प्रहरीले चालकलाई सवारीसाधनको स्वरूप परिवर्तन नगर्न, मापदण्डअनुसारको साइलेन्सर मात्र प्रयोग गर्न र सडक सुरक्षाप्रति सचेत रहन आग्रह गरेको छ।
कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण अभियान निरन्तर सञ्चालन गर्ने जनाएको छ।

Leave a comment