काठमाडौं, २ कात्तिक २०८२ (आइतबार) — सरकारले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो गतिविधि तीव्र पारेको छ। गतसाता राजनीतिक दलका नेताहरूसँग प्रारम्भिक परामर्श अघि बढाएको सरकारले आइतबारदेखि निर्वाचन सुरक्षासम्बन्धी कार्यक्रमहरू औपचारिक रूपमा अघि बढाउने तयारी गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार सामाजिक सञ्जाल एक्स (X) मार्फत राष्ट्रपतिको उपस्थितिमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन सुरक्षाबारे गहन छलफल भएको जानकारी दिएकी छन्।
उनले लेखेकी छन्, “राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा शीतलनिवासमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग गहन छलफल सम्पन्न भयो। निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था बलियो बनाउने विषयमा छलफल केन्द्रित थियो।”
प्रधानमन्त्रीका अनुसार छलफलमा निर्वाचनको वातावरण तयार गर्ने प्रयासको समीक्षा पनि गरिएको थियो। सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ निर्वाचन सुरक्षाका लागि तयार रहेको जानकारी दिएका छन्।
यसअघि राष्ट्रपति कार्यालयको पहलमा राजनीतिक दलका नेता र युवा पुस्ताका प्रतिनिधिहरूबीच छलफल भएको थियो। त्यसलाई अघि बढाउँदै सरकारले राजनीतिक दलका नेताहरूसँग भेटघाट र संवाद सुरू गरेको हो।
प्रधानमन्त्री कार्कीले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरिसकेकी छन् भने यस साताभित्र अन्य नेताहरूसँग पनि संवाद अघि बढाउने तयारी छ।
प्रधानमन्त्री कार्कीले एक्समा लेखेकी छन्, “निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ। राजनीतिक दलहरूसँगको संवादको शुरुवात भएको छ।”
केन्द्रीय सुरक्षा समितिको बैठक आज
आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ। उक्त समितिको अध्यक्ष गृह मन्त्री हुने र त्यसमा गृह तथा रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी हुनेछन्।
प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस नोटका अनुसार, बैठकले एकीकृत सुरक्षा योजनाको समीक्षा गरी नीतिगत निर्देशन दिनेछ।
यसैबीच गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। समितिले जिल्ला स्तरसम्म समन्वय गरी सुरक्षा योजना कार्यान्वयन गर्नेछ।
प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति पनि गठन भइसकेको प्रेस नोटमा उल्लेख छ।
प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि सबै पक्षलाई निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेकी छन्।
गृहमन्त्री अर्यालका अनुसार, “सरकारले निर्वाचनलाई पूर्ण प्राथमिकतामा राखेको छ। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ र निर्वाचन आयोगसँग सघन समन्वय भइरहेको छ।”



Leave a Reply