महाधिवेशनको मिति फेरबदलको गृहकार्यमा कांग्रेस

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

६ पुस,काठमाडौं : नेपाली कांग्रेसले आसन्न महाधिवेशनको कार्यतालिका परिवर्तन गर्नेबारे आन्तरिक तयारी थालेको छ। पार्टी सभापति शेरबहादुर देउवाले शनिबार कार्यबाहक सभापतिसहित शीर्ष पदाधिकारीहरूसँग यस विषयमा छलफल गरेका छन्।

देउवा निवासमा भएको छलफलमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए। छलफलमा महाधिवेशनको तालिका पुनःसमायोजन गर्नेबारे कुरा उठे पनि कुन मिति र कसरी परिवर्तन गर्ने भन्ने विषयमा भने ठोस निर्णय हुन नसकेको एक सहभागीले बताए।

केही दिनभित्र कार्यसम्पादन समितिको बैठक बोलाइने र सोही बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका तय हुने तयारी रहेको नेताहरूले जनाएका छन्। त्यसैगरी पार्टी विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने सहमति पनि भएको छ।

छलफलमा विभिन्न समयमा अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा परेका नेता–कार्यकर्ताको बाँकी सजाय मिनाहा गर्ने विषयमा समेत समझदारी बनेको बताइएको छ। कांग्रेसले यसअघि यही पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको भए पनि क्रियाशील सदस्यता विवाद अझै समाधान हुन नसक्दा कार्यतालिका फेरिने सम्भावना बढेको छ।

Leave a Comment