उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं/कलैया, कात्तिक १२ — श्रद्धा र भक्तिपूर्वक चार दिनसम्म मनाइएको छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत् रूपमा समापन गरिएको छ। व्रतालुहरूले परिवारको सुख–समृद्धि र स्वास्थ्यका लागि सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै व्रत सम्पन्न गरेका छन्।
शनिबार ‘नहाय–खाय’ विधिसँग सुरु भएको छठ पर्व सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएपछि आज बिहान उदाउँदो सूर्यको आराधनासँगै सम्पन्न भएको हो।

आज बिहानैदेखि व्रतालुहरू नदी, पोखरी र छठघाटमा पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै अर्घ्य अर्पण गरेका थिए। काठमाडौंको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, बागमती, नख्खु र विष्णुमती किनारमा हजारौं भक्तजनको उपस्थितिमा छठ सम्पन्न गरिएको छ। गुह्येश्वरी–गौरीघाट क्षेत्रमा मात्रै करिब पाँच लाखले पूजा गरेको अनुमान गरिएको छ।

तराई मधेशका जनकपुर, कलैया, बिर्तामोड, बिरगंज, मलंगवा, लहान र विराटनगरलगायत सहरहरूमा पनि छठघाटहरू बेहुलीझैं सिँगारिएका थिए। रंगीन बत्ती, फूलमाला र छठ गीतले सम्पूर्ण वातावरण भक्तिभावले भरिएको थियो।

छठ पर्वलाई निष्ठा र तपस्याको प्रतीक मानिन्छ। व्रतालुहरूले ४८ घण्टासम्म अन्न र पानी त्यागेर परिवार र समाजको कल्याणको कामना गर्दै कठोर व्रत बस्ने परम्परा छ। यस अवसरमा सूर्यदेवलाई ठकुवा, भुसुवा, कोसिया, केरा, उखु, अदुवा, हल्दी, मिठाई तथा विभिन्न फलफूल अर्पण गरिन्छ।

छठ पर्वका दिनहरूमा सरकारले सार्वजनिक बिदा दिएको थियो भने देशभरका जलाशय र घाटहरूमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सूर्यदेवप्रति कृतज्ञता र निष्ठा व्यक्त गर्दै यो वर्षको छठ पर्व सम्पन्न गरेका छन्।

Leave a comment