चीनको दाबी– अमेरिकाको साइबर हमला पछि राष्ट्रिय समय प्रणाली जोखिमम

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

सोमबार, ३ कात्तिक २०८२
बेइजिङ — चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)माथि आफ्नो राष्ट्रिय समय सेवा केन्द्रमा साइबर आक्रमण गरेको आरोप लगाएको छ।

राज्य सुरक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा उक्त आक्रमणले चीनको सञ्चार, वित्तीय तथा ऊर्जा आपूर्तिमा असर पार्ने खतरा रहेको उल्लेख छ।

मन्त्रालयका अनुसार सन् २०२२ मा अमेरिकी एजेन्सीले एक विदेशी मोबाइल ब्रान्डको सन्देश सेवामा रहेको कमजोरी प्रयोग गरी राष्ट्रिय समय केन्द्रका कर्मचारीहरूका उपकरणबाट गोप्य सूचना निकालेको थियो। मोबाइल ब्रान्डको नाम भने खुलाइएको छैन।

त्यस्तै, एनएसएले केन्द्रका आन्तरिक सञ्जाल प्रणालीहरूमा घुसपैठ गर्न ४२ प्रकारका साइबर उपकरण प्रयोग गरेको र सन् २०२३ देखि २०२४ सम्म समय मापन प्रणालीमा घुस्ने प्रयास गरेको चीनको भनाइ छ।

मन्त्रालयले प्रमाण रहेको दाबी गरे पनि ती विवरण सार्वजनिक गरेको छैन। चीनको राष्ट्रिय समय केन्द्रले सञ्चार, ऊर्जा, यातायात, वित्त र रक्षा क्षेत्रमा समय वितरण र मापन सेवा प्रदान गर्दै आएको छ। मन्त्रालयले केन्द्रलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको जनाएको छ।

“अमेरिका आफ्ना साइबर गतिविधि लुकाउन अरूलाई दोष दिने प्रवृत्तिमा छ,” वक्तव्यमा भनिएको छ।

पश्चिमी मुलुकहरूले भने चीनसँग सम्बन्धित ह्याकर समूहहरूले संवेदनशील निकायहरूमा आक्रमण गर्दै आएको आरोप लगाउँदै आएका छन्। तर चीनको नयाँ आरोपले दुवै देशबीच प्रविधि, व्यापार र ताइवान विषयमा जारी तनावलाई अझ बढाउने संकेत दिएको विश्लेषण गरिएको छ।

अमेरिकी दूतावासले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

Leave a comment