काठमाडौँ, माघ ११ — राष्ट्रियसभाका रिक्त हुन लागेका १८ पदका लागि आज आइतबार देशभर निर्वाचन भइरहेको छ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ, र सातै प्रदेशमा आवश्यक सबै तयारी पूरा भइसकेको छ।
यसपटकको निर्वाचनमा १८ मध्ये १ पदमा भने निर्विरोध चयन भइसकेको छ।
कोसी प्रदेशको खस आर्य समूह अन्तर्गत नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्। त्यसैले बाँकी १७ सिटका लागि मात्र मतदान भइरहेको छ।
कहाँ–कहाँ हुँदैछ मतदान?
निर्वाचन आयोगले सातै प्रदेशमा मतदान केन्द्र तोकेको छः
कोसी प्रदेश – प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ)
मधेस प्रदेश – महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर–४ (धनुषा)
बागमती प्रदेश – भुटनदेवी मावि, हेटौँडा–४ (मकवानपुर)
गण्डकी प्रदेश – प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा (कास्की)
लुम्बिनी प्रदेश – कर्मचारी मिलन केन्द्र, घोराही (दाङ)
कर्णाली प्रदेश – प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर (सुर्खेत)
सुदूरपश्चिम प्रदेश – प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली)
को हुन् मतदाता?
राष्ट्रियसभा सदस्य चयनमा आम नागरिकले सिधै मतदान गर्दैनन्। यसमा मतदाता रहनेछन्ः
प्रदेशसभा सदस्य
नगरपालिकाका प्रमुख/उपप्रमुख
गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष
मतभार किन घट्यो?
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार, आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन केही जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि राष्ट्रियसभा निर्वाचनको मतभार अघिल्लोभन्दा केही घटेको छ।
यी पदहरू आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछन्, त्यसैका लागि आज निर्वाचन गरिएको हो।

