कार्तिक ९ कार्तिक शिलङ, भारत । त्रिनेशन अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले भारतलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ । नेपालका लागि सावित्रा भण्डारी (बर्मा) फेरि एकपटक नायक बनेकी छन् ।
भारतविरुद्ध उनले एक गोल गर्दै नेपाललाई जित दिलाइन् । सावित्राले भारतविरुद्ध अहिले सम्म १० गोल गरिसकेकी छिन् भने समग्रमा राष्ट्रिय टिमका लागि उनका गोल संख्या ६८ पुगेको छ ।
यसअघि नेपाल पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो । भारत पनि इरानसँग २–० ले हार्दै आएको थियो । उपाधि जित्ने लक्ष्यसहित शिलङ पुगेको नेपाली टिमको सम्भावना पहिलो खेलपछि सकिएको भए पनि भारतविरुद्धको जितले टिममा आत्मबल बढाएको छ ।
पछिल्लो समयमा नेपालले भारतविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारतविरुद्ध नेपालको यो चौथो जित हो । यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकप मा पहिलो पटक भारतलाई पराजित गरेको थियो । त्यहीपछि २०२२ र २०२४ मा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिप मा पनि नेपालले भारतलाई हराएको थियो ।
यो जितसँगै पछिल्ला पाँच खेलमा नेपाल भारतविरुद्ध अपराजित रहँदै आएको छ ।
भारतविरुद्धको खेलबाट युवा फरवार्ड मिना देउवा ले पनि नेपालको सिनियर महिला टिमबाट डेब्यु गरेकी छिन् । यू–१९ टिमकी सदस्य रहेकी मिना ७६औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमबाट पहिलोपटक खेलेकी हुन् ।
त्यसैगरी मुख्य प्रशिक्षक नविन न्यौपाने ले पनि महिला राष्ट्रिय टिमका प्रशिक्षकको रूपमा आफ्नो पहिलो जित हात पारेका छन् ।



Leave a Reply