१९ पुस,काठमाडौं । काठमाडौँमा जारी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधिका लागि टिपटप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन्।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले पराजित गर्दै फाइनल यात्रा तय गर्यो।
खेलको पहिलो सेट पुलिसले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट भने आर्मीले जित्न सफल भयो। त्यसपछि पुलिसले खेलमा पुनः पकड जमाउँदै बाँकी दुई सेट जित्यो। पुलिसले आर्मीविरुद्ध २५–१२, २९–३१, २५–१४ र २५–१८ को सेट स्कोरमा जित निकाल्यो।
यसअघि भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एपीएफ क्लबलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो। न्यु डायमन्डले एपीएफविरुद्ध २५–१७, २५–२० र २५–७ को प्रभावशाली जित दर्ता गर्यो।
यी नतिजासँगै एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि न्यु डायमन्ड र पुलिस क्लबबीचको भिडन्त पक्का भएको छ।
च्याम्पियनसिपअन्तर्गत आजै पुरुषतर्फका सेमिफाइनल खेलहरू पनि सञ्चालन हुने आयोजकले जनाएको छ।

