कात्तिक १२, २०८२, बुधबार — मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले अब छिट्टै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। उनले आज जनकपुरमा गठबन्धनमा सहभागी दलहरूको बैठक बोलाउँदै समर्थन सुनिश्चित गर्न छलफल गर्दैछन्।
‘म तुरुन्तै विश्वासको मत लिने तयारीमा छु,’ मुख्यमन्त्री सोनलले बुधबार बिहान नेपालखबरसँग भने, ‘आज दिउँसो गठबन्धनमा सहभागी दलहरूको बैठक बस्दैछ। विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् पनि विस्तार हुनेछ।’
सोनलले सबै दललाई आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गर्दै सहकार्य र समन्वयको आधारमा प्रदेशलाई अघि बढाउने इच्छा व्यक्त गरेका छन्। ‘सबै दलसँग मेरो आग्रह यही हो— सहकार्यका माध्यमबाट प्रदेश विकासमा अघि बढाऔँ,’ उनले भने।
पाँच दलको समर्थनमा असोज २९ गते मुख्यमन्त्री बनेका लोसपा नेता सोनलले असोज ३० गते पद तथा गोपनियताको शपथ लिएपछि दुई मन्त्री मात्र नियुक्त गरेका थिए। तिहार र छठ पर्वका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताएका छन्।
हाल मधेस सरकारमा जनमत पार्टीका महेश यादव र नेकपा (एकीकृत समाजवादी)का कनिस पटेल मन्त्री रहेका छन्, तर उनीहरूको मन्त्रालय निर्धारण भएको छैन। गठबन्धन सहमतिअनुसार जसपाले चार, जनमतले तीन, माओवादी केन्द्र र समाजवादीले दुई–दुई मन्त्रालय पाउने अपेक्षा गरिएको छ। लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई थप मन्त्रालय नदिने तयारी अन्य दलको रहेको बताइएको छ।
तर, जनमत पार्टीभित्रको आन्तरिक विवादले सत्ता समीकरणमा केही अनिश्चितता थपेको छ। सोनललाई समर्थन गरेका जनमतका दुई सांसद फरक धारमा उभिएका छन्।
मुख्यमन्त्री सोनलले भने यसले सरकारलाई कुनै असर नपर्ने दाबी गरेका छन्। ‘जनमतभित्रको विवाद विधि र प्रक्रियाबाट समाधान हुनेछ,’ उनले भने, ‘यसले सरकारलाई अप्ठ्यारो पार्दैन।’
मधेसमा कांग्रेस र एमाले अहिले सत्ता बाहिर रहेका छन्। मुख्यमन्त्री सोनलको विश्वासको मतको तयारीसँगै प्रदेश राजनीतिमा नयाँ समीकरणको संकेत देखिएको छ।



Leave a Reply