बिहीबार, १३ कात्तिक २०८२(बारा)
बारा सदरमुकाम कलैयामा पछिल्लो समय चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । बुधबार राति फेरि एउटा चोरीको घटना घटेको छ — त्यो पनि कलैया उपमहानगरपालिकाकै सरकारी मोटरसाइकल चोरी भएको हो ।
बारा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नजिकै रहेको कलैया उपमहानगरपालिका–१, पानिटंकी क्षेत्रबाट सरकारी मोटरसाइकल चोरी भएको हो । राति करिब ९:३५ बजे उपमहानगरपालिका अन्तर्गतको रोजगार सेवा केन्द्रका शाखा प्रमुख बिबेक गुप्ताको घर अगाडि पार्किङ गरिएको मोटरसाइकल हराएको प्रहरीले जनाएको छ ।
चोरी भएको मोटरसाइकल ना. १ व ३५६५ नम्बरको ब्ल्याक डेकल रेड रंगको बजाज पल्सर १५० टिडी (चेचिस नं. MD2A11CY) हो । सो मोटरसाइकल कलैया उपमहानगरपालिकाको नाममा दर्ता भएको थियो ।
स्थानीयवासीका अनुसार, प्रशासन र प्रहरी कार्यालयको वरिपरिकै क्षेत्रमा यस्ता चोरीका घटना बढ्नु सुरक्षा व्यवस्थामाथिको गम्भीर प्रश्न हो । प्रहरीलाई तत्काल खोजतलासका लागि आग्रह गरिएको छ ।
स्थानीयहरूले भने, “सरकारी सवारीसाधन नै सुरक्षित छैन भने आम जनताको सुरक्षा कसरी सुनिश्चित हुने ?” भन्दै असन्तोष व्यक्त गरेका छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।



Leave a Reply