लगातार हारपछि संकटमा नेपाल, ओडीआई मान्यता गुम्ने खतरा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमण निराशाजनक बनेको छ। त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिजमा लगातार हारसँगै नेपालको लिग–२ यात्रा थप कठिन बन्दै गएको छ। यो हारसँगै नेपालको एकदिवसीय मान्यता जोगाउने चुनौती थप गहिरिएको छ।

वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिजपछि उच्च मनोबलमा रहेको नेपालले विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग र यूएईसँग खेल्दा भने प्रदर्शन दोहोर्‍याउन सकेन। टी–२० विश्वकप छनोटमा चम्किएको नेपाल एकदिवसीय ढाँचामा भने लय हराएको छ। ब्याटिङ कमजोर, बलिङ अनियमित र फिल्डिङमा निरन्तर गल्तीहरूले टोलीको प्रदर्शन फिक्का बनाएको छ।

अमेरिकाविरुद्धको दोस्रो खेलमा कमजोर फिल्डिङ हारको मुख्य कारण बन्यो। सुरुवाती खेलको तुलनामा ब्याटिङमा सुधार देखिए पनि मध्यक्रम ढिलो र अस्थिर रह्यो। पावरप्लेमा टिक्न नसक्नु र डेथ ओभरमा आक्रमकता नदेखाउनुले नेपाललाई निरन्तर पछि पारेको छ।

ललित राजवंशीले विकेट लिन नसक्दा कुशल भुर्तेल रन र विकेट दुवैमा संघर्षरत छन्। उता, अनुभवी करण केसी र सोमपाल कामीको प्रदर्शन पनि औसत रह्यो।

कप्तान रोहित पौडेलले यूएईविरुद्ध शतक प्रहार गर्दै ओडीआईमा दुई शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने उपलब्धि हासिल गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।

अहिलेसम्म लिग–२ मा १९ खेल खेलेको नेपालले ५ खेलमा मात्र जित निकाल्दा १२ मा हार र २ खेल बराबरी गरेको छ। जम्मा १२ अंकका साथ नेपाल सातौँ स्थानमा (पुछारबाट दोस्रो) रहेको छ। समान खेल खेलेको यूएई ८ अंकका साथ अन्तिम स्थानमा छ भने अमेरिका १८ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ।

लगातार तीन हारपछि नेपाललाई अब सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना घटेको छ। अझ गम्भीर कुरा, एकदिवसीय मान्यता जोगाउन समेत कठिन परिस्थिति उत्पन्न भएको छ।

यसअघि यस्तै संकटमा प्रशिक्षक बनेका मोन्टी देसाईले टोलीलाई नयाँ उचाइमा पुर्‍याएका थिए। तर, हाल स्टुअर्ट लको आगमनपछि अपेक्षित सुधार देखिएको छैन।

नेपालले अझ १७ खेल खेल्न बाँकी छ। अंकको हिसाबले हेर्दा अबका प्रदर्शनले नै नेपालको ओडीआई मान्यता टिकी रहने वा जाने निर्धारण गर्नेछ।

यूएई भ्रमणमा नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा ४ विकेटले र तेस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भइसकेको छ। अन्तिम खेल बुधबार हुने छ, त्यसपछि टोली स्वदेश फर्कनेछ।

विश्वकप लिग–२ अन्तर्गत ३६ खेल खेल्नुपर्ने नेपालले घरेलु मैदानमा सुरु भएको यात्रामा पनि नामिबिया, नेदरल्यान्ड्स, ओमान, क्यानडा, अमेरिका र स्कटल्यान्डविरुद्ध मिश्रित नतिजा पाएको थियो।

लगातार अस्थिर प्रदर्शनका कारण नेपाल अब निर्णायक मोडमा पुगेको छ। आगामी खेलहरूमा सुधार गर्न नसके नेपालको ओडीआई मान्यता गुम्ने खतरा यथार्थ बन्न सक्छ।

Leave a comment