काठमाडौँ, कात्तिक २०
आगामी निर्वाचनका तयारीसहित नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया तीव्र बनेको छ। निर्वाचन आयोगमा हालसम्म १८ वटा नयाँ दल दर्ताको पर्खाइमा रहेका छन्। आयोगले ती दलहरूलाई आगामी कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा तोकेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको नाममा दल दर्ताको निवेदन आएको छ। यससँगै दर्ता पर्खाइमा रहेका दलहरूको संख्या १८ पुगेको हो।
भट्टराईका अनुसार जेन–जी आन्दोलन अघि आयोगमा ९ वटा नयाँ दल दर्ताका निवेदन परेका थिए भने त्यसपछिका केही हप्तामा थप ९ दलले दर्ताका लागि आवेदन दिएका छन्। हाल आयोगले सबै निवेदनमाथि अध्ययन गरिरहेको छ।
हालसम्म आयोगमा १२५ वटा दलले दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका छन्। नयाँ दर्ता चाहने दलले अब १० दिनभित्र प्रमाणपत्र लिएर आगामी निर्वाचन प्रयोजनका लागि तयार हुनुपर्ने आयोगको भनाइ छ।
निर्वाचन आयोगको कार्यतालिका
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार—
मंसिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम हुनेछ।
माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि रहनेछ।
त्यसपछि प्रचार निषेध अवधि लागू हुनेछ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र त्यसपछि मतगणना प्रारम्भ गरिनेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने तथा पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम समेत आयोगले तय गरेको छ।
आयोगका अनुसार, निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म मात्रै रहने भएकाले नयाँ दर्ता हुन चाहने दलले कात्तिक ३० भित्र प्रमाणपत्र लिइसकेर पुनः मंसिरको दर्ता अवधिमा नाम दर्ता गराउनुपर्नेछ।



Leave a Reply