·२० कात्तिक, काठमाडौं ।
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने तयारी अघि बढेको छ। निर्वाचन आयोगले यस सम्बन्धमा कानुनी संशोधनका लागि राय तयार पारेर गृह मन्त्रालयमा पठाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी आधार तयार गर्न आयोगले गृह मन्त्रालयलाई विस्तृत राय पठाएको हो।
‘गृह मन्त्रालयले कानुनमा राय मागेको थियो। कुन बुँदामा के राख्दा हुन्छ भनेर कानुनी भाषासहित राय पठाइएको छ,’ प्रवक्ता भट्टराईले भने।
उनका अनुसार आयोगले कानुनी बाटो खुलाउने कार्य सम्पन्न गरेको छ, तर व्यवहारिक कार्यान्वयनका पक्षमा सरकारले थप अध्ययन र तयारी गर्नुपर्ने छ।
‘कुन मोडालिटीबाट गर्ने, कति खर्च लाग्ने लगायतका व्यवहारिक पक्ष कानुनमा उल्लेख छैनन्, ती विषयमा सरकारले निर्णय गर्नुपर्ने हुन्छ,’ उनले थपे।
आयोगले पठाएको राय अनुसार, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिलाउन मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आयोग ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा संशोधन गर्नुपर्ने देखिएको छ।
सरकारले अब अध्यादेशमार्फत ऐन संशोधनको बाटो खोल्ने तयारी गरेको बताइएको छ। यसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा केही देशका नेपालीहरूलाई पहिलो पटक मतदानको अवसर दिलाउन सक्ने सम्भावना बढेको छ।



Leave a Reply