मालिस विवादपछि अध्यक्षको राजीनामा विवाद सतहमा, उपाध्यक्ष र अध्यक्षबीच मतभेद

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२० कार्तिक जनकपुरधाम, सप्तरी — सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा अध्यक्ष दिनानाथ चौधरीको राजीनामा विवादले नयाँ मोड लिएको छ। गत डेढ महिनादेखि स्थानीय प्रशासनमा देखिएका विवादहरू बीच, अध्यक्ष र उपाध्यक्षबीच राजीनामा सम्बन्धी मतभेद खुलेको हो।

गत ५ असोजमा अध्यक्ष चौधरीले कार्यालयमै वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई मालिस गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवादले शितलता पाएको थिएन। त्यसपछिका दिनमा अध्यक्ष चौधरीले पदबाट राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा पत्र पनि सार्वजनिक भयो।

उपाध्यक्ष कल्पना चौधरीका अनुसार, अध्यक्ष चौधरीले असोज ५ गते राजीनामा बुझाएका थिए र कात्तिक १८ गते कार्यपालिका बैठकले स्वीकृत गरेको हो। वडा नम्बर १ का वडाध्यक्ष सबजुल खलिफाले पनि अध्यक्षले राजीनामा दिएको र बैठकले स्वीकृत गरेको पुष्टि गरेका छन्। उपाध्यक्ष चौधरीले भने, “असोज ५ गते परिषद् भएको दिन मालिसको भिडियो आएको थियो, त्यही दिन अध्यक्षले राजीनामा पत्र बुझाउनुभएको हो। कात्तिक १८ गते स्वीकृत भइसकेको छ।”

तर अध्यक्ष चौधरी भने आफ्नो दाबीमा अडिग छन्। उनले विज्ञप्ति जारी गर्दै भने, “मैले राजीनामा दिएको कुरा पूर्ण रूपमा मनगढन्ते र नियोजित रूपमा फैलाइएको भ्रम हो। मैले कुनै निकायमा राजीनामा पेस गरेको छैन। यदि मैले स्वेच्छाले राजीनामा दिएको भए, कार्यपालिका बैठक कसरी बस्यो? म कागजी कारोबारमा सहभागी किन थिएँ?”

यसबीच, उपाध्यक्ष कल्पना चौधरीले आफ्नो अडान कायम राख्दै भनिन्, “अध्यक्षज्यूले राजीनामा दिनुभएको हो, त्यो असोज ६ गते आएको हो र कात्तिक १८ गते स्वीकृत भएको छ। राजीनामा दिएको छैन भन्नु गलत हो।” उनले यसबारे निर्वाचन आयोगलाई जानकारीसमेत पठाइसकिएको उल्लेख गरिन्।

अहिले अध्यक्ष र उपाध्यक्षबीचको मतभेदले गाउँपालिकाको प्रशासनिक प्रक्रियामा थप चुनौती सिर्जना गरेको छ।

Leave a comment