सुवर्ण गाउँपालिकाका अध्यक्ष यादवमाथि छोरालाई छात्रवृत्तिमा छनोट गराएको आरोप, शक्तिको दुरुपयोग र भ्रष्टाचारको फेहरिस्त सार्वजनिक

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२२ कार्तिक, बारा।

बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवमाथि नैतिकता विपरीत कार्य र शक्तिको चरम दुरुपयोग गर्दै व्यापक आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

सार्वजनिक भएको एक सूचनाअनुसार, गाउँ कार्यपालिकाले एमबीबीएस वा बीपीएच अध्ययनरत विद्यार्थीलाई दिने रु. २ लाख नगद र १ थान ल्यापटपसहितको छात्रवृत्ति योजनामा अध्यक्ष यादवले आफ्नै छोरा सन्दीप कुमार यादवलाई छनोट गराएको पाइएको छ। यस घटनाले उहाँको पदिय शक्तिको दुरुपयोग र हितसङ्घर्षको स्पष्ट उदाहरण देखाएको स्थानीयले टिप्पणी गरेका छन्।

प्रमाण सार्वजनिक भए पनि अध्यक्ष यादवले राजीनामा नदिई पदमा बसिरहनुले सार्वजनिक पद धारण गर्ने व्यक्तिको नैतिक दायित्वमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

अध्यक्ष यादवमाथि यसअघि पनि गरिब र निमुखा जनतालाई दिइने आर्थिक सहयोग, औषधि खरिद, मोबाइल खरिद, माछापोखरी ठेक्का प्रकरण, र कर्मचारी भर्नामा लाखौं कमिसन उठाएको आरोप लागेको छ।

त्यसक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँमाथि छापा मार्दै मोबाइल र सिमकार्ड समेत नियन्त्रणमा लिएको समाचार सार्वजनिक भइसकेको छ।

यस्तै, गाउँपालिकामा सञ्चालित १८ वटा गैरसरकारी संस्थामार्फतका कार्यक्रममा करिब रु. १ लाख १६ हजार ३८२ बराबरको कर छली र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९९ को उल्लंघन गरी लागत अनुमान स्वीकृतिबिना भुक्तानी गरिएको पनि पाइएको छ। आयोगले कर्मचारी र अध्यक्षका आफन्तहरूका खातामा भएको सन्दिग्ध रकम कारोबारबारे पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ।

यसैबीच, दशैं बिदाका बेला अध्यक्ष यादवले पालिकाको बजेट प्रयोग गरी भारतका टिकटक स्टारहरूलाई बोलाई कार्यालयभित्र रक्सी सेवनसहित अनैतिक क्रियाकलाप गरेको आरोप पनि लागेको छ। उक्त घटनापछि आक्रोशित युवाहरूले पालिका कार्यालय घेराउ गर्दा प्रहरी बल प्रयोग गरी अध्यक्षलाई सुरक्षित निकालिएको थियो।

यी सबै घटनाक्रमले अध्यक्ष यादवको गैरजिम्मेवार आचरण, पदीय मर्यादाको अवमूल्यन र नैतिक पतन प्रस्ट पारेको स्थानीयहरू बताउँछन्।

अहिलेसम्म अध्यक्ष यादवले कुनै औपचारिक प्रतिक्रिया नदिएकाे र उहाँको मोबाइल स्विच अफ रहेको कारण सम्पर्क गर्न नसकिएको बताइएको छ।

Leave a comment