काठमाडौँ, माघ ११ — अफगानिस्तानमा पछिल्ला तीन दिनदेखि जारी भीषण हिमपात र वर्षाले ठूलो मानवीय क्षति पुर्याएको छ। देशको विपद् व्यवस्थापन एजेन्सीका अनुसार प्राकृतिक प्रकोपका कारण कम्तीमा ६१ जनाको मृत्यु भइसकेको छ।
हिमपातसँगै आएको हिमपहिरोका घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने ४०० भन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रभावित क्षेत्र दुर्गम भएकाले वास्तविक क्षति अझ बढ्न सक्ने अनुमान सरकारी निकायले गरेको छ।
सडक सम्पर्क ठप्प
भारी हिमपातका कारण राजधानी काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने हिन्दुकुश क्षेत्रको मुख्य राजमार्ग बन्द भएको छ। यसले अत्यावश्यक वस्तुको ढुवानी र उद्धार कार्यमा समेत अवरोध सिर्जना गरेको छ।
जनजीवन अस्तव्यस्त
बामियान, परवान, बल्ख र मैदान वर्दक लगायतका प्रान्तमा जनजीवन अत्यन्त कष्टकर बनेको छ। ती क्षेत्रमा अत्यधिक चिसो, यातायात अवरुद्ध र आश्रयविहीन परिवारको समस्या बढ्दो छ।
सरकार तथा स्थानीय निकायहरू उद्धार, राहत वितरण र सडक खुलाउने प्रयासमा जुटेका छन्, तर निरन्तर खराब मौसमले काममा चुनौती थपिएको बताइएको छ।

