लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित, रियल मड्रिडलाई बराबरीले झट्का

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२४ कात्तिक २०८२, सोमबार

स्पेनिस ला लिगामा बार्सिलोनाले रोबर्टो लेवान्डोस्कीको ह्याट्रिकको मद्दतमा शानदार जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–२ ले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थान मजबुत बनाएको हो।

गएराति नै शीर्ष स्थानमा रहेको रियल मड्रिडले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेपछि बार्सिलोनालाई अंकको हिसाबले फाइदा पुगेको छ।

१२ खेलपछि रियल मड्रिड १० खेलमा जित, एक बराबरी र एक हारसहित ३१ अंकमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै, समान खेलबाट ९ जित, एक बराबरी र दुई हार ब्यहोरेको बार्सिलोना २८ अंकसहित दोस्रो स्थानमा छ।

बार्सिलोनाको जितमा लेवान्डोस्कीले तीन गोल गर्दा युवा स्टार लामिन यामालले एक गोल थपे। खेलको १०औँ मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाएका थिए।

तर लगत्तै सर्जियो कारेराले गोल गर्दै सेल्टा भिगोलाई बराबरीमा ल्याए। ३७औँ मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए पनि, ४३औँ मिनेटमा बोर्जाको गोलमा खेल २–२ को बराबरीमा पुगेको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा लामिन यामालले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए।
खेलको ७३औँ मिनेटमा लेवान्डोस्कीले आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र बार्सिलोनालाई ४–२ को जित सुनिश्चित गरे।

खेलको अन्तिम चरणमा बार्सिलोना १० खेलाडीमा सिमित रह्यो। इन्ज्युरी समयको चौथो मिनेटमा मिडफिल्डर फ्रेङकी डि जोङले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छाडेका थिए।

गएराति नै भएको अन्य खेलमा एथलेटिक क्लबले रियल ओभिडोलाई र मालोर्काले गेटाफेलाई समान १–० ले पराजित गरे। भ्यालेन्सिया र रियल बेटीसबीचको खेल भने १–१ को बराबरीमा टुंगियो।

Leave a comment