भुटान पुगेर मोदीले भने : दिल्लीमा विस्फोट गराउनेहरूलाई छाडिन्न

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक २५, २०८२ (मंगलबार)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँ दिल्लीमा सोमबार साँझ भएको बम विस्फोटका जिम्मेवारहरूलाई कुनै हालतमा नछाडिने बताएका छन्।

भ्रमणका लागि भुटान पुगेका मोदीले आफू भारी मन लिएर भुटान आएको उल्लेख गर्दै घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्।

उनले भने,

“दिल्लीमा हिजो साँझ भएको भयानक घटनाले सबैलाई दु:खी बनाएको छ। म पीडित परिवारहरूको पीडा बुझ्छु। आज सिंगो राष्ट्र उनीहरूको साथमा उभिएको छ।”

प्रधानमन्त्री मोदीका अनुसार उनले रातभरि सुरक्षासम्बन्धी एजेन्सीका प्रमुखहरूसँग निरन्तर सम्पर्कमा रहेर अनुसन्धानको प्रगति बारे जानकारी लिएका थिए।
उनले थपे,

“हाम्रा एजेन्सीहरू यस षड्यन्त्रको तल्लो तहसम्म पुग्नेछन्। षड्यन्त्रकारीहरूलाई कुनै हालतमा छाडिने छैन।”

भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँ दिल्लीको बम विस्फोट घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याइने बताए।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ करिब ६:५२ बजे लालकिल्ला स्टेशननजिक गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।

दिल्ली प्रहरी र राष्ट्रिय जाँच एजेन्सी (NIA) ले संयुक्त रूपमा घटनाको अनुसन्धान थालेका छन्। राजधानीमा सुरक्षा सतर्कता उच्च गरिएको बताइएको छ।

Leave a comment