इरानविरुद्ध सैन्य कारबाहीका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने जोर्डनको अडान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, माघ २० — जोर्डनले इरानविरुद्ध हुने कुनै पनि सैन्य आक्रमणका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट अडान सार्वजनिक गरेको छ।

जोर्डनका विदेशमन्त्री अयमान सफादी ले इरानका विदेशमन्त्री अब्बास अराघ्ची सँग टेलिफोन संवाद गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्। संवादका क्रममा क्षेत्रीय अवस्था, बढ्दो तनाव र त्यसलाई कम गर्न भइरहेका कूटनीतिक प्रयासबारे छलफल भएको उनले उल्लेख गरेका छन्।

सफादीका अनुसार दुवै पक्षले आणविक मुद्दाको शान्तिपूर्ण समाधान खोज्न तथा संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनले जोर्डन सबै देशको सार्वभौमिकताको सम्मान गर्ने आफ्नो नीति प्रति दृढ रहेको पनि दोहोर्‍याएका छन्।

उनले भनेका छन्,

“जोर्डन क्षेत्रीय द्वन्द्वमा कुनै पक्षका लागि युद्धभूमि बन्ने छैन। साथै, इरानविरुद्ध हुने सैन्य कारबाहीका लागि हाम्रो भूमि वा संरचना प्रक्षेपणस्थलका रूपमा प्रयोग हुन दिइने छैन।”

सफादीले जोर्डनको हवाई क्षेत्र उल्लंघन गर्ने वा आफ्ना नागरिकको सुरक्षामा खतरा पुर्‍याउने कुनै पनि प्रयासको कडा प्रतिवाद गरिने चेतावनी पनि दिएका छन्।

क्षेत्रमा बढ्दो भूराजनीतिक तनावबीच जोर्डनले आफूलाई प्रत्यक्ष सैन्य गतिविधिबाट अलग राख्दै कूटनीतिक समाधानलाई जोड दिएको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।

Leave a Comment