मधेस सरकार गठनविरुद्ध आज पनि सात दलका सांसदको धर्ना एमाले नेता सरोज यादव मुख्यमन्त्री बनेपछि प्रदेश राजनीति थप तातियो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२०८२ कात्तिक २६, काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध सातदलीय गठबन्धनका सांसदहरू आज पनि धर्नामा बसेका छन्। बुधबार बिहानदेखि उनीहरू मधेस भवन अगाडि बाटो अवरुद्ध गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्।

प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेशको राजनीतिक अवस्था तातिएको हो।

सत्ताविरोधी सात दल — नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी — का सांसद र कार्यकर्ताहरू संयुक्त रूपमा आन्दोलनमा छन्।

मंगलबार साँझ नवनियुक्त मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्न मधेस भवन पुगेका बेला बाहिर प्रदर्शन चर्किएको थियो। त्यसक्रममा भएको प्रहरी लाठीचार्जबाट १७ जना प्रदर्शनकारी घाइते भएका थिए।

घटनापछि सातदलीय गठबन्धनले प्रदेश सरकारको विरोधमा निरन्तर आन्दोलनको घोषणा गरेको छ। उनीहरूले मुख्यमन्त्री नियुक्तिलाई ‘संविधानविपरीत’ भन्दै खारेज गर्न माग गरेका छन्।

Leave a comment