काठमाडौँ, माघ १७, २०८
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभर प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातै प्रदेशका सबै निर्वाचन क्षेत्रलाई समेटेर नमूना मतपत्र तयार गरेको हो।
निर्वाचन आयोगका अनुसार एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि छुट्टाछुट्टै ढाँचाका मतपत्र बनाइएका छन्। उम्मेदवारको संख्या धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र रहनेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाता शिक्षालाई सहज बनाउन नमूना मतपत्र सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार उम्मेदवारको संख्या, निर्वाचन क्षेत्रको अवस्था र व्यवहारिक पक्षलाई ध्यानमा राख्दै मतपत्रको नमूना तयार पारिएको हो।
कर्णाली प्रदेशअन्तर्गत सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एक–एक निर्वाचन क्षेत्र मात्र रहेका छन्। दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र रहेकाले ती जिल्लाका लागि फरक नमूना मतपत्र सार्वजनिक गरिएको छ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एक–एक निर्वाचन क्षेत्र कायम छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्, जसअनुसार सबै निर्वाचन क्षेत्रका नमूना मतपत्र आयोगले सार्वजनिक गरेको छ।
आयोगले यी नमूना मतपत्रहरू मतदाता शिक्षाका कार्यक्रमहरूमा प्रयोग गरिने जनाएको छ। साथै, समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको नमूना पनि सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

