गरिमा विकास बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न, बोनस र नगद लाभांश वितरणको निर्णय

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कार्तिक २८ ,पोखरा । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौँ वार्षिक साधारणसभा कास्कीस्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर तथा ४.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएका परिवर्तन पारित गरेको छ। साथै, २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि भएको छ।

विशेष प्रस्तावमार्फत बैंकले अधिकृत पूँजी ६ अर्ब १० करोड पुर्‍याउने, केन्द्रीय कार्यालय लाजिम्पाटबाट आफ्नै भवन बालुवाटारमा सार्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, र प्रबन्ध–पत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरू पारित गरेको छ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा पुग्ने बैंकले जनाएको छ।

गरिमा विकास बैंकले देशभर रहेका १२६ शाखा तथा ५१ एटीएममार्फत सेवा दिँदै आएको छ। बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत सुरक्षित, सहज र गुणस्तरीय सेवा विस्तार गरिरहेको जनाएको छ।

Leave a comment