बंगलादेशमा शेख हसिनाको पार्टी कार्यालयमा आगजनी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २७ कात्तिक, २०८२ : बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको ढाकास्थित कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। घटना १७ नोभेम्बरमा मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसलाको मिति सार्वजनिक भएपछि भएको हो।

बीबीसी बांग्लाका अनुसार, बंगलादेश इस्लामी छात्र शिविर र नेशनल सिटिजन्स पार्टीका प्रदर्शनकारीहरूले अवामी लिगको कार्यालयमा फर्निचर जम्मा गरेर आगो लगाएका छन्। कार्यालयबाहिर रहेको मूर्तिसमेत प्रदर्शनकारीले तोडफोड गरेका छन्।

स्थानीय प्रहरी अधिकारी एसआई निशातले घटनाबारे छानबिन भइरहेको जानकारी दिएका छन्। बिहीबार दिउँसो प्रदर्शनकारीले पार्टीको विद्यार्थी संगठनसँग सम्बन्धित आशंकामा दुई जनालाई प्रहरी नियन्त्रणमा लिएका थिए।

अवामी लिगले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत अन्तरिम सरकार र प्रधानमन्त्री मुहम्मद युनुसमाथि पार्टीलाई लगातार निशाना बनाएको आरोप लगाएको छ। पार्टीका अनुसार, ‘लोकतान्त्रिक सुधारको नाउँमा सबभन्दा ठूलो राजनीतिक दलमाथि लगातार आक्रमण भइरहेको छ।’

गत वर्ष जुलाईको आन्दोलनपछि दायर मानवताविरुद्धको अपराध मुद्दामा पूर्वप्रधानमन्त्री हसिना र अन्य तीन जनाविरुद्ध फैसला १७ नोभेम्बरमा सुनाइने तयारी थियो।

Leave a comment