१० मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएकाे मृत्युदण्डको सजायकाे विरोधमा उनकाे पार्टी अवामी लिगले ३० नोभेम्बरसम्म देशभर आन्दोलन गर्ने घोषणा गरेको छ।
इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले १७ नोभेम्बरमा ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमां खान कमाललाई मृत्युदण्डको फैसला सुनाएको थियो। अवामी लिगले यस निर्णयलाई मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारद्वारा गरिएको राजनीतिक प्रतिशोधकाे प्रयास भएको आरोप लगाएको छ।
पार्टीको आधिकारिक एक्स ह्यान्डलमार्फत् सार्वजनिक भनाइमा, आगामी फेब्रुअरीमा हुने भनिएको आम चुनावबाट शेख हसिना र उनको पार्टीलाई बाहिर राख्ने योजनाअनुसार सजाय सुनाइएको दाबी गरिएको छ। अवामी लिगले ट्रिब्युनललाई ‘अवैध’ भन्दै फैसला अस्वीकार गरेको छ।
यसैगरी, पार्टीले अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसको राजीनामा माग गर्दै उनी र उनका सहयोगीहरूलाई ‘राष्ट्रविरोधी गतिविधि’मा संलग्न रहेको आरोप लगाएको छ।
अवामी लिगले एक्समा लेखेको छ,
“बंगलादेशमा नक्कली चुनावको अवसर दिइने छैन। जनता र लोकतन्त्रविरुद्धका हरेक षड्यन्त्रलाई हामी कुनै पनि मूल्यमा स्वीकृति दिने छैनौं।”



Leave a Reply