२८ कात्तिक, जनकपुरधाम ।
मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पछिल्ला राजनीतिक घटनाक्रमले प्रदेशमा अस्थिरता बढेको भन्दै सबै पक्षलाई संयमित र जिम्मेवार राजनीतिक आचरण अपनाउन आग्रह गरेका छन्।
बिहीबार पदभार ग्रहण गरेका लाभले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक अस्थिरताले सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक प्रक्रिया प्रभावित पारेको उल्लेख गरे। समाज निरन्तर परिवर्तनशील रहने भए पनि अनुशासन, संयमता र दृढताका साथ लक्ष्यतर्फ केन्द्रित रहन आवश्यक रहेको उनले बताए।
प्रदेश प्रमुख लाभले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ लाई आत्मसात् गर्दै एक-अर्काको अस्तित्व र मर्यादाप्रति सम्मान जनाउन आग्रह गरे। मधेश प्रदेशले संघीयताको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले संघीयताप्रतिको भरोसा बलियो बनाउन नागरिकदेखि राजनीतिक नेतृत्वसम्म सबैको जिम्मेवारी रहेको बताए।
बढ्दो अनिश्चितता, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक काम प्रभावित भइसकेकाले विधिसम्मत समाधानमार्फत स्थिरता कायम गर्नुपर्ने उनले भने।
विज्ञप्तिमा उनले राजनीतिक दल, नेतृत्व, सञ्चार क्षेत्र, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज र प्रदेशका कर्मचारीलाई सुशासनयुक्त, सुशिक्षित, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणका लागि एकजुट हुन आह्वान गरेका छन्।
‘समुन्नत भविष्य निर्माणका लागि सहकार्य, समन्वय र संवाद अनिवार्य छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘मधेश प्रदेशको प्रगतिमा सबैले हातेमालो गर्नुपर्छ।’



Leave a Reply