३० कात्तिक, बारा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव र लेखापाल प्रदिप दाससहित चारजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले सार्वजनिक गरेको विज्ञप्तिअनुसार आ.व. २०७९/०८० मा बारा जिल्लाभित्रका विभिन्न निर्माण कार्यका लागि आह्वान गरिएका २३ वटा बोलपत्र सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४(१) बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन हुनुपर्ने थियो। तर, तत्कालीन प्रमुख यादव र लेखापाल दासले सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलसँग मिलेमतो गरी सो सूचना लुकाएर केवल प्रभाव दैनिकको एक मात्र प्रति तयार गराई अभिलेखमा राखेको आयोगले जनाएको छ।
सार्वजनिक रूपमा सूचना प्रकाशित नगरी झुट्टा बिल भर्पाईका आधारमा सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई रु. ३,१६,५७० (अग्रीम कर बाहेक) भुक्तानी गरिएको प्रमाण फेला परेपछि अख्तियारले थप अनुसन्धान अघि बढाएको थियो। प्रेस काउन्सिल नेपाल र प्रभाव पब्लिकेसन प्रालिबाट प्राप्त प्रतिवेदनले २०७९ फागुन २१ गतेको प्रभाव दैनिकमा सो सूचना नछापिएको पुष्टि गरेको उल्लेख गरिएको छ।
यसलाई आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिमको कसूर ठहर गर्दै मुख्य कसूरदार यादव र दास तथा मतियारको भूमिकामा रहेका सिग्देल र खरेलविरुद्ध कैद, जरिवाना र बिगो असुल गर्न मागदाबीसहित मुद्दा दायर गरेको हो। चारै जनामाथि रु. ३,१६,५७० को बिगो कायम गरिएको आयोगले जनाएको छ।



Leave a Reply