काठमाडौं, माघ ५
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवार आजै अन्तिम टुंगो लगाइने स्पष्ट पारेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उनले समयको चापबीच पनि पार्टीभित्र अधिकतम सहमति र सन्तुलन कायम गर्ने प्रयास भइरहेको बताएका हुन् ।
थापाले उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको उल्लेख गर्दै पार्टीको आधिकारिक टिकट पाउने उम्मेदवारको पक्षमा सबै नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्न आग्रह गरे । व्यक्तिगत असन्तुष्टि वा मनमा राखिएका कुरा थाती राखेर निर्वाचनलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।
उनले उम्मेदवार छनोट प्रक्रियाबारे बोल्दै आदर्श रूपमा तल्लो तहबाट सिफारिस भएर उम्मेदवार तय हुनुपर्ने आफ्नो धारणा रहे पनि वर्तमान अवस्थामा पार्टी विधानअनुसार केन्द्रमै निर्णय गर्नुपर्ने बाध्यता आएको बताए । १६५ वटै निर्वाचन क्षेत्रबाट आएका सिफारिसहरू, कतिपय स्थानमा देखिएको असहजता र कानुनी परीक्षणका कारण प्रक्रिया जटिल बनेको उनको स्वीकारोक्ति थियो ।
पार्टीभित्र नयाँ–पुरानो पुस्ताबीच सन्तुलन मिलाउने, समावेशीता कायम गर्ने र सबैलाई न्याय भएको अनुभूति गराउने प्रयास जारी रहेको थापाले बताए । तर, निर्वाचन आयोगसँग सम्बन्धित विषय र समयसीमाको दबाबका कारण निर्णय प्रक्रिया कठिन बनेको उनले स्पष्ट पारे ।
सभापति थापाले आजै सबै निर्णय टुंग्याइने जनाउँदै भोलिदेखि नेता–कार्यकर्ता आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा जुट्न आग्रह गरेका छन् । कांग्रेसलाई एकताबद्ध बनाएर चुनावी मैदानमा उत्रिनु नै अहिलेको प्रमुख आवश्यकता भएको उनको निष्कर्ष छ ।

