टर्की संसद्मा नयाँ मन्त्रीको शपथका बेला कुटाकुट, केही सांसद घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, २९ माघ २०८२

टर्कीको संसद्मा नयाँ न्यायमन्त्रीको शपथ ग्रहणका क्रममा सत्तारुढ र विपक्षी दलका सांसदहरूबीच झडप हुँदा संसद् भवन केहीबेर तनावग्रस्त बनेको छ। बुधबार भएको उक्त घटनामा धकेलाधकेल र मुक्का हानाहान हुँदा केही सांसदहरूको अनुहार र हातमा सामान्य चोट लागेको बताइएको छ।

राष्ट्रपति रजेप तैयप एर्दोगानले इस्तानबुलका पूर्व प्रमुख अभियोजक अकिन गुर्लेकलाई न्यायमन्त्री नियुक्त गरेपछि विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)ले तीव्र विरोध जनाएको थियो। विपक्षी सांसदहरूले संसद् भवनभित्रै शपथ प्रक्रिया अवरुद्ध गर्न खोजेपछि स्थिति नियन्त्रणबाहिर पुगेको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सांसदहरू एक–अर्कामाथि जाइलाग्दै मुक्का प्रहार गरेको दृश्य देखिन्छ। विपक्षी दलका अध्यक्ष ओजगुर ओजेलले गुर्लेकको नियुक्तिलाई ‘लोकतन्त्र र विपक्षीको अस्तित्वमाथिको प्रहार’ भन्दै कडा आपत्ति जनाएका छन्। उनले एर्दोगानको निर्णयविरुद्ध आफ्नो पार्टी पछि नहट्ने चेतावनीसमेत दिएका छन्।

गुर्लेकमाथि विगतमा विपक्षी नेताहरूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको आरोप लाग्दै आएको छ। संसद्मा एक विपक्षी नेताले न्यायपालिकालाई राजनीतिक हतियार बनाइएको आरोप लगाउँदै यस्तो व्यक्तिलाई न्यायमन्त्रीका रूपमा स्वीकार गर्न नसकिने बताएका छन्।

यता सत्तारुढ एके पार्टीका प्रवक्ता ओमार चेलिकले भने विपक्षीको व्यवहारलाई असंसदीय भन्दै आलोचना गरेका छन्। उनले जनताको मतबाट निर्वाचित सरकारले गर्ने नियुक्तिमा अवरोध पुर्‍याउनु लोकतान्त्रिक अभ्यासविरुद्ध हुने तर्क गरेका छन्। साथै, न्यायपालिका स्वतन्त्र रूपमा सञ्चालन हुने विषयमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

घटनापछि संसद् परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

Leave a Comment