जापानमा ताकाइचीको दबदबा, एलडीपीलाई तल्लो सदनमा दुईतिहाइ नजिक बहुमत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौँ, माघ २६ — जापानको प्रधानमन्त्री निर्वाचनमा पूर्व टेलिभिजन प्रस्तोता सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले प्रचण्ड बहुमत हासिल गरेको छ। आइतबार सम्पन्न निर्वाचनमा एलडीपीले संसदको सबैभन्दा शक्तिशाली तल्लो सदनमा ३१६ सिट जित्दै स्पष्ट जनादेश पाएको हो।

सरकारी प्रसारक एनएचकेको नतिजाअनुसार ४६५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि आवश्यक २३३ सिटभन्दा एलडीपी ८३ सिटले अघि छ। यस जितसँगै ताकाइचीको नेतृत्व थप बलियो बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

नतिजापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री ताकाइचीले जिम्मेवार र दीर्घकालीन वित्तीय नीतिलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्। ‘हामी वित्तीय दिगोपनामा सम्झौता नगरी आवश्यक क्षेत्रमा लगानी सुनिश्चित गर्छौं,’ उनले भनिन्।

टेलिभिजन स्टुडियोबाट प्रधानमन्त्री निवाससम्म

‘आइरन लेडी’ उपनामले चिनिने ६४ वर्षीया सानाए ताकाइची जापानको सत्तारूढ दलभित्र दक्षिणपन्थी धारकी प्रभावशाली नेतृ हुन्। पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी मानिने उनी राजनीति प्रवेश गर्नु अघि टेलिभिजन प्रस्तोताका रूपमा परिचित थिइन्।

लैङ्गिक समानता र आप्रवासनबारे रूढिवादी धारणा राख्ने ताकाइची कडा नीति र स्पष्ट बोलीका कारण चर्चामा रहँदै आएकी छन्। हेभी मेटल संगीतप्रेमी उनी स्टेजमा ड्रम बजाउँदा अत्यधिक जोस देखाउने नेतृका रूपमा पनि चिनिन्छिन्।

पछिल्ला वर्षहरूमा चन्दा र धार्मिक काण्डका कारण दबाबमा परेको एलडीपीलाई ताकाइचीले महँगी नियन्त्रण र खाद्यान्नमा लाग्ने ८ प्रतिशत बिक्री कर निलम्बन गर्ने चुनावी एजेन्डामार्फत पुनः सशक्त बनाएकी हुन्। यद्यपि, विश्वकै ठूलो सार्वजनिक ऋण बोकेको जापानले यस्तो कार्यक्रम कसरी धान्छ भन्ने प्रश्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उठाएका छन्।

अमेरिकाको समर्थन, चीनको चासो

ताकाइचीको जितलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेर स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत बधाई दिँदै ट्रम्पले ताकाइचीलाई ‘पूर्ण समर्थन’ रहने बताएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि यसलाई ‘ठूलो राजनीतिक जित’ को संज्ञा दिएका छन्।

तर यो परिणाम चीनका लागि भने सहज नभएको कूटनीतिक विश्लेषकहरूको धारणा छ। एसिया ग्रुपका प्रमुख डेभिड बोलिङका अनुसार बेइजिङले ताकाइचीको मजबुत सत्ता स्वीकार्न बाध्य हुने अवस्था आएको छ।

ताइवानमाथि चीनले आक्रमण गरे जापानको सम्भावित प्रतिक्रियाबारे ताकाइचीले दिएको अभिव्यक्तिपछि नै पछिल्ला वर्षहरूमा जापान–चीन सम्बन्धमा उच्च तनाव देखिएको थियो।

‘अब कानुन बनाउन विपक्षीको आवश्यकता छैन’

होसेई विश्वविद्यालयका प्राध्यापक क्रेग मार्कका अनुसार तल्लो सदनमा प्राप्त यो बहुमतले ताकाइचीलाई विपक्षीको सहमति बिना नै नीति र कानुन अघि बढाउने शक्ति दिएको छ।

‘बजेट, रक्षा खर्चदेखि संवैधानिक व्याख्यासम्म, ताकाइचीले चाहेका अधिकांश एजेन्डा सहजै अघि बढाउन सक्छिन्,’ उनले बताएका छन्। विश्लेषकहरूका अनुसार यो जितले जापानको शान्तिवादी छविमा दीर्घकालीन परिवर्तन ल्याउने ढोका पनि खोलिदिएको छ।

Leave a Comment