मंसिर ४, काठमाडौं ।
चितवन राइनोजका रबि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्दै टिमलाई सशक्त सुरुवात दिलाएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै चितवनले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेका चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रन जोड्यो। बोपाराले ५५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन जोडे। यसअघि उनले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए।
कप्तान कुशल मल्लले २१ रन जोडे भने सैफ जैब र देव खनालले बराबर १५–१५ रन योगदान दिए। दीपक बोहराले १० रन थपे।
बलिङतर्फ लुम्बिनीका नामिबियाली बलर रुबेन ट्रम्पलम्यान प्रभावकारी रहे। उनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। युवा स्पिनर अभिशेष गौतमले ३ ओभरमा १५ रन दिँदै २ विकेट हात पारे। गुल्बदिन नइबले पनि किफायती बलिङ गरे।



Leave a Reply