मंसिर ७, काठमाडौं —
काठमाडौंमा आइतबार आयोजित विशेष कार्यक्रममार्फत प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माले अगुवाइ गरेको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाहिरिएका सन्तोष परियारबीच गरिएको एकतापछि नयाँ पार्टी गठन गरिएको हो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको नाम औपचारिक रूपमा सार्वजनिक गर्दै आफू अभिभावकीय भूमिकामा रहने जनाए। पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ। सो पार्टी नेतृ दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको आयोग स्रोतले जनाएको छ।
नयाँ पार्टीले प्रगतिशील समाजवादलाई मार्गदर्शक सिद्धान्त मानेको छ। पार्टीको चुनाव चिह्न ‘आँखा’ रहेको पनि घोषणा गरिएको छ। नेतृत्व संरचना समावेशी र सामूहिक मोडेलमा सञ्चालन गरिने बताइएको छ।
पार्टीका नेताहरूले नयाँ शक्तिकेन्द्रित राजनीतिक विकल्प निर्माण तथा समावेशी सामाजिक रूपान्तरण मुख्य लक्ष्य रहने बताएका छन्।



Leave a Reply