एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त, अपराजित विराटनगर र सुदूरपश्चिम पुनः मैदानमा
८ मंसिर ,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई महत्वपूर्ण खेलहरू हुँदै छन्।
पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच हुनेछ भने दोस्रो खेल अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन्।
पहिलो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगर किङ्स अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजलाई फराकिलो अन्तरले हराउँदै प्लेअफको बाटो सहज बनाएको विराटनगरलाई यसपटक उपाधिको दाबेदारको रूपमा पनि हेरिएको छ। घरेलु तथा विदेशी खेलाडीबीचको उत्तम तालमेल यस टोलीको मुख्य शक्ति मानिएको छ।
यता, गत संस्करणका विजेता जनकपुर बोल्ट्सले भने अपेक्षित सुरुआत गर्न सकेको छैन। पहिलो खेलमा नै काठमाडौँसँग ५ विकेटले पराजित जनकपुरले अब विराटनगरविरुद्ध जित निकाल्दै पुनरागमन गर्ने लक्ष्य लिएको छ। कागजमा बलियो देखिए पनि खेलमैदानमा प्रभाव जमाउन नसक्नु जनकपुरका लागि चिन्ताको विषय बनेको छ। गत संस्करण यी दुई टोलीबीच भएको उद्घाटन खेलमा जनकपुरले ८ विकेटको जीत हासिल गरेको थियो।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्। सुरुआती दुवै खेल जितेको सुदूरपश्चिमले अपराजित बन्दै प्लेअफ पुग्ने लक्ष्य बनाएको छ। गत संस्करण फाइनलमा हार बेहोरे पनि उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिम इस पटक उपाधि लक्ष्यमा खेलिरहेको छ। अनुभवी विदेशी ब्याटर तथा तल्लोक्रमसम्म बलियो विकल्पहरू उपलब्ध हुनु यसको विशेषता हो।
कर्णाली याक्सले भने पहिलो खेलमा चितवनसँग हार बेहोरे पनि दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्दै शानदार पुनरागमन गर्यो। त्यस खेलमा मार्क वाटको आक्रामक ब्याटिङ कर्णालीका लागि टर्निङ पोइन्ट बनेको थियो। गत संस्करण रन रेटकै आधारमा प्लेअफ पुगेको कर्णाली यसपटक सहज यात्राको खोजीमा छ। गत सिजन यी दुईबीच भएको खेलमा सुदूरपश्चिम ६ विकेटले विजयी भएको थियो।
यद्यपि जम्मा ८ खेल पूरा हुँदा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स दुवै अपराजित छन्। समान ४–४ अंक भए पनि नेट रनरेटका आधारमा विराटनगर शीर्ष स्थानमा उक्लिएको छ।
एनपीएल पहिलोपटक प्यारापिट र फ्लड–लाइटमा आयोजना गरिएको कारणले नेपाली क्रिकेटमा नयाँ उत्साह थपिएको छ। ब्याटिङतर्फ विदेशी खेलाडीको प्रभाव देखिए पनि बलिङमा नेपाली खेलाडीले प्रभावकारी प्रदर्शन गरिरहेका छन्।



Leave a Reply