९ मंसिर, रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक २५ वर्षीया महिलाको विभत्स हत्या भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। भुसाहा निवासी शेख आदिलकी श्रीमती तरीमा खातुन सोमबार राति आफ्नै घरभित्र हत्या गरिएर भुस राख्ने स्थानको खाडलमा पुरिएको अवस्थामा फेला परेकी छन्।
मंगलबार बिहान घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले घटनास्थलबाट खातुनको शव उत्खनन गरेको हो।
परिवारका सदस्य फरार, डेढ वर्षे छोरा समेत लिएर भागे
घटनापछि मृतकका ससुरा शेख अलि मोहम्मद सहित परिवारका सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूले खातुनका डेढ वर्षे छोरा मोहम्मद आरिफलाई समेत लिएर बेपत्ता भएको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए। मृतकका श्रीमान् शेख आदिल भने साउदी अरबमा वैदेशिक रोजगारीमा रहेका छन्।
अवैध सम्बन्धको आरोपले मोडिएको घटनाक्रम
वडा अध्यक्ष प्रवेज आलमका अनुसार खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवा हो। कात्तिक १८ गते माइती पक्षको विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध रहेको आरोप खातुनमाथि लगाइएको थियो।
उनीहरूलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको थियो। दुवैले विवाह गर्ने सहमति जनाएपछि खातुनलाई ससुरा शेख अलि मोहम्मदको जिम्मामा छाडिएको मृतकका बुबा ताज मोहम्मदको भनाइ छ।
‘हल्ला गरे मारिदिन्छु भनेर धम्की दिए’
मृतकका भाइ शेख आस मोहम्मदका अनुसार घटनाको रात परिवारका सदस्यले उनलाई धम्की दिएको बताए।
उनले भने, “यदि यो कुरा बाहिर भन्यौ भने तिमीलाई पनि मारिदिन्छौँ भनेपछि म फोटो खिचेर कसरी होस भनेर त्यहाँबाट भाग्न सफल भएँ।”
उनका अनुसार सो तस्वीर उनले माइती पक्षलाई प्रमाणस्वरूप पठाएका छन्।
हत्या धारिलो हतियारबाट भएको अनुमान
प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट छ र टाउकोमा धारिलो हतियार प्रयोग गरिएको देखिन्छ। घटनास्थलबाट एक वटा चक्कु पनि बरामद गरिएको प्रहरीले बताएको छ।
खातुनको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइिरहेको बताइएको छ।



Leave a Reply