काठमाडौं, १५ माघ – आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकार सुरक्षा व्यवस्थामा कडाइ गर्ने तयारीमा जुटेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्तिसुरक्षा बिथोल्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै यस्ता कार्यमा संलग्न जोकोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
बिहीबार निर्वाचन आयोगमा आयोजित छलफलमा बोल्दै गृहमन्त्री अर्यालले भयरहित र निष्पक्ष निर्वाचन गराउने दायित्व सरकारको भएको उल्लेख गरे। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीहरूसँग भएको भेटमा निर्वाचन सुरक्षाको अवस्था र व्यवस्थापकीय तयारीबारे विस्तृत छलफल भएको थियो।
गृहमन्त्री अर्यालका अनुसार मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीसहित सबै सरोकारवालाको सुरक्षालाई ध्यानमा राखेर योजना बनाइएको छ। गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल मिल्ने गरी विशेष सुरक्षा रणनीति लागू गरिरहेको उनले जानकारी दिए।
उनले आपराधिक तथा निर्वाचनविरोधी गतिविधिप्रति “शून्य सहनशीलता” नीति अपनाइएको बताउँदै स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई सतर्क रहन निर्देशन दिइसकेको उल्लेख गरे।
सरकारले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय बनाउन सुरक्षा संयन्त्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको गृहमन्त्रीको भनाइ छ।

