११ मंसिर,बारा
बारा जिल्लामा नाबालिकाको अवैध विवाह गराउने सन्दर्भमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, बाराले मंसिर १० गते राति करैयामाई गाउँपालिका–१ हरैया टोलमा भएको बालविवाह प्रयासलाई असफल पार्दै नाबालिकालाई उद्धार गरेको हो।
प्रहरीका अनुसार वर्ष ४४ का एक स्थानीय पुरुषले आफ्नी विवाहयोग्य उमेर नपुगेकी छोरीको विवाह पर्यटक भिसामा नेपाल आएका २२ वर्षीय चिनियाँ नागरिकसँग गराउँदै गरेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
प्रहरी निरीक्षक प्रकाश खड्का र प्रहरी चौकी मधुवनका प्र.स.नि. शम्भु प्रसाद यादवको नेतृत्वमा गएको टोलीले घरभित्र सामाजिक रीतिरिवाजअनुसार विवाह गराउँदै गरेको अवस्थामा बालिकालाई उद्दार गरेको जनाएको छ।
उमेर नपुगेकी बालिकाको विवाह गराउने तथा गर्ने गरी उक्त घटनामा संलग्न रहेका दुवै जना प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरूविरुद्ध जिल्ला अदालत बाराबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) बिजयराज पण्डितले जानकारी दिए।



Leave a Reply