हङकङमाथि प्रभावशाली जितसहित नेपाल यू–१९ प्रिमियर कपको सेमिफाइनलमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१२ मंसिर ,काठमाडौँ :
एसीसी यू–१९ प्रिमियर कपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बिहीबार यूएईमा भएको अन्तिम समूह चरणको खेलमा नेपालले हङकङलाई १२० रनले पराजित गर्दै अन्तिम–४ मा प्रवेश पक्का गरेको हो।

२७१ रनको बलियो लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभरमै १५१ रनमा अलआउट भयो। उनका कप्तान शिव माथुरले ३० रन जोडेर टिमलाई सम्हाल्ने प्रयास गरे। त्यसैगरी जुडे लीले २२, अब्दुल समाद खानले १९, रियान्श शर्माले १८, आरेज दारले १५ तथा अफ्ताब हुसैनले १० रन बनाए।

नेपालका बलरहरू उत्कृष्ट रहे। अपराजित पौडेलले ४ विकेट हात पारे भने कप्तान अशोक धामीले ३ विकेट लिए। दयानन्द यादव, सुशीलबहादुर रावल र रोशन विश्वकर्माले १–१ विकेट योगदान गरे।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। नेपालका लागि कप्तान अशोक धामी ७३ रनसहित शीर्ष स्कोरर रहे। दर्श सोनारले अविजित ४५ रन जोडे। त्यस्तै दिलसद अलीले ३२, सिब्रिन श्रेष्ठले २५, वंश क्षेत्रीले २४, निरजकुमार यादवले २२ तथा रोशन विश्वकर्माले २१ रनको योगदान गरे।

हङकङका बलरमध्ये ड्यानियल माप र अभिमन्यु गणेशनले २–२ विकेट लिए भने प्रीत मञ्जुकिया र अफ्ताब हुसैनले १–१ विकेट हात पारे।

Leave a comment