१३ मंसिर, काठमाडौं ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको उनको पार्टी बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा इस्लाम आलमगीरले जानकारी दिएका छन्।
८० वर्षीया जिया कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखासम्बन्धी दीर्घरोगसँग पछिल्ला वर्षहरूमा जुधिरहेकी छिन्। उनलाई नोभेम्बर २३ मा छातीको सङ्क्रमणका कारण अस्पताल भर्ना गरिएको थियो। उक्त सङ्क्रमणले उनको मुटु र फोक्सोमा असर परेको चिकित्सकहरूले बताएका छन्।
आलमगीरले भने, “उहाँको अवस्था निकै जटिल छ। स्वास्थ्य लाभका लागि आज जुम्मा नमाजपछि विशेष प्रार्थनाको आयोजना गरिएको छ।”
दीर्घरोग र पुराना आरोप
खालिदा जियालाई ‘जिया अनाथालय ट्रस्ट’ नाममा सरकारी पैसा हिनामिना गरेको मुद्दामा ढाकाको विशेष अदालतले फेब्रुअरी ८, २०१८ मा ५ वर्षको जेल सजाय सुनाएको थियो। पछि हाईकोर्टले सजाय बढाएर १० वर्ष पुर्याएको थियो।
खालिदासँगै उनका छोरा तारिक रहमान तथा अन्य पाँच जनालाई १० वर्षको कैद र २.१ करोड टाका जरिवाना गरिएको थियो।
हसिनाको पतनपछि रिहा
खालिदा जिया सन् १९९१–१९९६ र २००१–२००६ सम्म दुई कार्यकाल बंगलादेशकी प्रधानमन्त्री थिइन्।
शेख हसिनाको सत्ताच्युत भइसकेको अगस्ट ६, २०२४ मा उनलाई जेलमुक्त गरिएको थियो। त्यसपछि उपचारका लागि लन्डन गएकी जिया चार महिना त्यहाँ बसेर मे ६ मा बंगलादेश फर्किएकी थिइन्।
अहिले उनको स्वास्थ्य झन् जटिल बन्दै गएको र चिकित्सकहरूको निगरानीमा रहेका बीएनपीले जनाएको छ।



Leave a Reply