मोक्षदा एकादशी तथा गीता जयन्ती आज देशभर श्रद्धापूर्वक मनाइँदै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ मंसिर ,काठमाडौँ :
आज मार्गशीर्ष शुक्ल पक्षको एकादशी, अर्थात् मोक्षदा एकादशी, सनातन धर्मावलम्बीहरूले देशभर श्रद्धाभावका साथ मनाइरहेका छन्। यसै दिन श्रीमद्भगवद्गीता प्रादुर्भाव भएकाले गीता जयन्तीका रूपमा पनि विशेषरूपमा मनाइन्छ।

धार्मिक ग्रन्थअनुसार महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा अर्जुन युद्ध लड्न तयार नभएपछि भगवान् कृष्णले दिएको उपदेश नै गीता हो। अर्जुनको संशय र द्विधा हटाउने उद्देश्यले कृष्णले धर्म, कर्तव्य, योग र मोक्षमार्गका गहिरा सिद्धान्तहरू व्याख्या गरेका थिए। यही उपदेशका १८ अध्यायलाई महाभारतको भीष्मपर्वमा समेटिएको छ।

धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमका अनुसार गीतामा भक्ति, ज्ञान र वैराग्य योगका मूल तत्वहरू समेटिएका छन्, जसले मानव जीवनलाई धर्म, कर्तव्य र मोक्षमार्गतर्फ निर्देशित गर्छ।

गीता जयन्ती तथा मोक्षदा एकादशीका अवसरमा विश्व हिन्दु महासंघसहित विभिन्न धार्मिक संघ–संगठनले देशभर गीता पाठ, प्रवचन, सत्संग, पूजा–आराधना र सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेका छन्। मठ–मन्दिर तथा भक्तजनका घर–घरमा पनि गीता पाठ तथा विशेष पूजा गरेर आजको दिन मनाइँदै छ।

Leave a comment