काभ्रेपलाञ्चोक, १५ चैत २०८२ – लगातार वर्षा र रोशी खोलामा आएको बाढीका कारण शुक्रबार साँझदेखि बन्द रहेको बीपी राजमार्ग आइतबार बिहानबाट पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सडक अवरोध हटाउन सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा मर्मत तथा अस्थायी संरचना निर्माण गरिएपछि यातायात पुनः सञ्चालनमा ल्याइएको हो।
बाढीका कारण रोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थान—घुमाउनेडाँडा, विरुवाडाँडा, चिउरीबास, कालढुङ्गा तथा नमोबुद्ध नगरपालिका आसपासका सडकखण्डमा क्षति पुगेको थियो। करिब पाँच किलोमिटरभन्दा बढी क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बग्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
हाल ती स्थानहरूमा पुनः अस्थायी डाइभर्सन निर्माण गरी सवारी आवागमन सहज बनाइएको छ।
यद्यपि, मौसम अझै अस्थिर रहेकाले यात्रु तथा चालकलाई सतर्कता अपनाएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

