म्याग्दी, चैत २२ – धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी भएका छन्। छ जना खेलाडी आवश्यक पर्ने टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य छन्।
४२ वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबल खेलाडी हुन्। दुई जना बाहिरी खेलाडी थपेर उनीहरू विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका छन्। उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन्छन्।
नरेशका अनुसार उनका बुबा सानैदेखि भलिबल खेल्दै आएका थिए र बुबाकै प्रेरणाबाट आफूहरू पनि खेलतर्फ आकर्षित भएका हुन्। कक्षा १२ उत्तीर्ण गरेका नरेश बुबाको घोडा व्यवसायमा सघाउँछन् भने नवीन र केशव अध्ययनरत छन्।
सबहादुर र उनका छोराहरू सेटर, रेज, लिब्रोलगायत विभिन्न भूमिकामा खेल्न सक्षम छन्। हालै उनीहरूको टिमले धवलागिरि गाउँपालिका–७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ।
नवीन र केशवले राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन–तीन स्वर्ण पदक जितेर विद्यालयलाई विजयी बनाउन योगदान दिएका थिए। नरेशले पनि प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।
नरेश र नवीनले दौड र ज्याभलिन थ्रो प्रतियोगितामा पनि भाग लिएका छन्। केशवले जिल्ला भलिबल संघद्वारा आयोजित म्याग्दी कपमा उत्कृष्ट सेटरको उपाधि जितेका थिए।
सबहादुर वैदेशिक रोजगारीका लागि कतार गएर फर्किएका हुन्। हाल उनी घोडापालन तथा ढुवानी व्यवसायमा संलग्न छन्। आठवटा घोडा पालेर गाउँमा तरकारी र फलफूल ढुवानी गर्दै आएका छन्।
फुर्सदको समयमा उनीहरूको टोली भलिबल प्रतियोगितामा सहभागी हुन्छ। दर्शक तथा शुभेच्छुकहरूले आर्थिक र पोशाक सहयोग पनि गर्दै आएका छन्।
सबहादुरका अनुसार सहयोगले टोलीलाई अझ सक्रिय र उत्साहित बनाएको छ र स्वास्थ्यले साथ दिएसम्म खेलमा निरन्तर लागिरहने योजना रहेको छ।

