मंसिर २० देखि समानुपातिक निर्वाचन कार्यक्रम सुरु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१६ मंसिर ,काठमाडौ -आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि प्रारम्भ हुने भएको छ। आइतबारदेखि निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि सो कार्यक्रमका तयारी औपचारिक रूपमा सुरु गरिएको आयोगले जनाएको छ।

आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार राजनीतिक दलहरूले मंसिर २१ गते बिहान १० बजेदेखि मंसिर २३ गते अपराह्न ४ बजेसम्म समानुपातिक प्रणालीमा भाग लिनका लागि निवेदन पेस गर्न सक्नेछन्।

मंसिर २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निवेदन पेस गरेका दलहरूको नामावली प्रकाशन गरिने छ। आगामी पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिने तथा माघ २० गते बन्दसूचीको अन्तिम प्रकाशन हुने कार्यक्रम तय भएको छ।

समानुपातिक निर्वाचन अधिकृतको कार्यवाहक प्रमुखको रूपमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेका छन्। यसतर्फ आयोगका सचिव महादेव पन्थ निर्वाचन अधिकृत र सहसचिव यज्ञप्रसाद भट्टराई सहायक निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी वहन गर्नेछन्। निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटाइने आयोगले जनाएको छ।

कार्यवाहक प्रमुख भण्डारीका अनुसार कानुनअनुसार जातीय, भौगोलिक, लैंगिकलगायतका समूह छुट्याएर ‘सूत्रात्मक पद्धति’ अपनाई प्रतिनिधि छनोट गरिने भएकाले सबै पक्षको भरोसा रहने विश्वास व्यक्त गरिएको छ।

विद्यमान कानुनअनुसार प्रतिनिधिसभामा २७५ सदस्य रहनेछन्, जसमा १६५ जना प्रत्यक्ष तथा ११० जना समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ। प्रत्यक्ष प्रणालीतर्फको उम्मेदवारी मनोनयन आगामी माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत गरिनेछ।

यसैबीच, आइतबार नै अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूसँग निर्वाचन पूर्वतयारी र सरकारबाट उपलब्ध गराउनुपर्ने सहयोगबारे छलफल गरेका छन्।

Leave a comment