८ भाद्र,बारा: कलैया उपमहानगरपालिका–२३ सिसहनिया चोकमा टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति करिब ९:४५ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक उपेन्द्र राउत कुर्मीको ज्यान गएको हो।
कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको टाटा सुमो ठोक्किँदा कुर्मी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि वीरगन्जस्थित न्यूरो अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बैराठपुर चोकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन्। उनीहरूले दुर्घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र बैराठपुरदेखि सिसहनियासम्मको सडक तत्काल सुधार गर्नुपर्ने माग गरेका छन्।


