मधेश प्रदेश सभामुख चयन आज, दुई उम्मेदवारबीच प्रतिस्पर्धा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, ६ पुस । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकले नयाँ सभामुख चयन गर्ने कार्यसूची तय गरेको छ।

सभामुख पदका लागि दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन्। नेकपा एमालेबाट प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघिका सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा सात दलीय गठबन्धनले गत मंसिर ३ गते प्रदेशसभामा दुई तिहाइ बहुमतबाट हटाएपछि सभामुख पद रिक्त रहँदै आएको थियो।

आजको बैठकमा ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ। बहुमत प्राप्त गर्ने उम्मेदवार मधेश प्रदेश सभाको नयाँ सभामुखका रूपमा निर्वाचित हुनेछन्।

सभामुख निर्वाचनलाई प्रदेशको सत्ता समीकरण र आगामी राजनीतिक दिशासँग जोडेर हेरिएको छ।

Leave a Comment