हेटौंडामा सडक विस्तार प्रभावितका लागि आवास सहजीकरण गर्ने निर्णय

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

हेटौंडा, २१ मंसिर।
हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा भइरहेको सडक विस्तारका कारण विस्थापित भएका परिवारका लागि आवास व्यवस्थापनमा सहजीकरण गर्ने घोषणा गरेको छ। आइतबार बसेको उपमहानगरको ७६औँ कार्यपालिका बैठकले प्रभावित परिवारको पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आवश्यक समन्वय र सहयोगका निर्णयहरू गरेको हो।

शनिबारदेखि सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाभित्र पर्ने रेखांकन गरिएका संरचना भत्काउने काम अघि बढाएको थियो। यो प्रक्रियामा करिब ५०० घरटहरा तथा संरचनाका झ्याल, ढोका, सटर र भित्ताहरू क्षतिग्रस्त बनेका छन्।

उपमहानगरका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेका अनुसार सडक विस्तारका कारण घरजग्गा नभई पूर्ण रूपमा प्रभावित भएकाको विवरण वडा मार्फत संकलन गरी मालपोत कार्यालयसँग मिलान गरिनेछ। योग्य मानिएका घरवारविहीन परिवारलाई आवास आयोजना मार्फत पुनःस्थापना गर्ने गरी सहजीकरण गर्ने निर्णय गरिएको छ।

साथै, प्रभावित परिवारलाई घर निर्माणका लागि आवश्यक खर्च व्यवस्थापन गर्न सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रभावित क्षेत्रमा नक्सापास लगायतका सेवाहरू फास्ट–ट्र्याक प्रक्रियाबाट उपलब्ध गराइनेछ। त्यस्तै, व्यवसाय सञ्चालन रोकिएका व्यापारीहरूको विवरण संकलन गरी व्यवसाय पुनःसुरु नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि प्रस्ताव नगरसभामा लैजाने उल्लेख गरिएको छ।

त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्न संघीय सरकारसमक्ष प्रस्ताव पठाउने तयारी उपमहानगरले गरेको छ। प्रभावित क्षेत्रका संरचनामा हेटौंडाको पहिचान झल्किने नमूना घर निर्माण मोडल पनि उपमहानगरले तयार पार्ने निर्णय बैठकले गरेको छ।

यस्तै, घर निर्माणका लागि लाग्ने नक्सापास दस्तुर २०२० वर्गफुटसम्म छुट दिने प्रस्ताव नगरसभामा पेश गरिने र निर्माण सामग्रीहरू सहज रूपमा उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय उपमहानगरले गरेको छ।

योजनाअनुसार, ८.५ किलोमिटर सडक—महेन्द्रराजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म—विस्तार भइरहेको छ।
सडक डिभिजनका अनुसार कुल ५३१ संरचना तोडफोड सूचीमा परेका छन्, जसमा सडकको केन्द्ररेखाबाट २५/२५ गजभित्र पर्ने दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घर तथा टहराहरू छन्।

Leave a Comment