रावलपिण्डीमा भिड्दै पाकिस्तान र श्रीलंका

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक २५, २०८२ (मंगलबार)
पाकिस्तानको भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीले आजदेखि सुरु हुने तीन एकदिवसीय (ODI) खेलको पहिलो प्रतिस्पर्धामा घरेलु टोली पाकिस्तानसँग रावलपिण्डीमा भिड्ने भएको छ।

खेल अपराह्न सवा ३ बजे (स्थानीय समयअनुसार) सुरु हुने तय गरिएको छ।

पाकिस्तान टोलीको कप्तानी साहिन शाह अफ्रिदीले सम्हाल्ने छन्। अफ्रिदी नेतृत्वको टोलीमा ब्याटर सलमान आघामोहम्मद रिजवान, साथै बलर अब्रार अहमदनसीम शाहलाई निर्णायक प्रदर्शन गर्ने खेलाडीका रूपमा हेरिएको छ।

त्यस्तै, श्रीलंकाली टोली चरिथ असलंकाको कप्तानीमा मैदानमा उत्रिनेछ। असलंकासँगै ब्याटर कुशल मेन्डिस र बलर असिथा फेर्नान्डो तथा वानिन्डु हसरंगालाई टिमका प्रमुख हतियार मानिएको छ। यी खेलाडीहरूले पछिल्ला श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

शृंखलाका बाँकी दुई खेलहरू पनि पाकिस्तानमै आयोजना हुनेछन्। पछिल्लो समय पाकिस्तानले विदेशी टोलीहरूलाई नियमित रूपमा आमन्त्रण गर्दै घरेलु माटोमा अन्तर्राष्ट्रिय क्रिकेट पुनर्जीवित गर्ने प्रयास गर्दै आएको छ।

यसअघि पाकिस्तानले दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र बंगलादेशसँग घरेलु मैदानमा सफल श्रृंखला सम्पन्न गरिसकेको छ।

Leave a comment